निःशुल्क लाेकसेवा तयारी कक्षा

सिन्धुली जिल्लामा शैक्षिक बेरोजगार समस्यालाई न्यूनीकरण गर्न स्थानीय तहले लोकसेवा आयोगका परीक्षाको निःशुल्क तयारी कक्षा सञ्चालन गरेका छन् ।

जिल्लाको कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेका हुन् । कमलामाई नगरपालिकाका अनुसार लोकसेवा आयोगले लिने परीक्षाका लागि एक महिने निःशुल्क तयारी कक्षा शुक्रबारदेखि सुरु भएको छ ।

 

नगरपालिकाका सामाजिक विकास शाखाका नासु वविन्द्रलाल माझीले यस वर्ष नायब सुब्बा/सहायक स्तर पाँचौँ, प्रहरी सहायक निरीक्षक र सहायक सेनानीका लागि लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गरेको जानकारी दिए ।

 

नगरपालिकाले १२० जनालाई लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने तयारी रहेको थियो । नायब सुब्बा/सहायक स्तर पाँचौँमा ४५ जना, प्रहरी सहायक निरीक्षकमा र सहायक सेनानीमा तीन जनाको मात्रै आवेदन परेकाले ५८ जनालाई तयारी कक्षामा सहभागी गराइएको छ । कमलामाई नगरपालिकाका नगरप्रमुख खड् गबहादुर खत्रीले बेरोजगार युवालाई तयारी कक्षामा सहभागी गराइएको बताए । सुनकोसी गाउँपालिकाले गत मङ्सिरदेखि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

 

सुनकोसी दलित सेवा समिति, गाउँपालिकास्तरीय अन्तरपार्टी महिला सञ्जाल र किशोरी सञ्जालको संयुक्त आयोजनामा कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाभित्र बसोबास गर्ने दलित र महिलालाई लक्षित गरी खरिदार र नायब सुब्बाको एक महिने तयारी कक्षा सञ्चालन गरिएको सुनकोसी दलित सेवा समितिका अध्यक्ष केशव लोहारले जानकारी दिए । तयारी कक्षामा ३० जनाको सहभागी भएको उनको भनाइ छ । सुनकोसी गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न गाउँपालिकाले चालू आवमा पाँच लाख रुपियाँ विनियोजन गरेको जानकारी दिए ।